एजेन्सी । जर्मनीलाई पराजित गरेर इंल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । हिजो राति भएको प्रि–क्वाटरफाइनलमा तीन पटक च्याम्पियन हातपारिसकेको जर्मनीलाई २–० गोल अन्तरले पराजित गर्दै इंल्याण्ड अन्तिम आठमा पुगेको हो ।
लण्डनस्थित वेम्बली स्टेडियममा इंल्याण्डलाई जिताउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक एक गोल गरेका । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंल्याण्डलाई सुरुमै अग्रता दिलाएका थिए । जारी युरोकपमा स्ट्रर्लिङको यो चौंथो खेलमा तेस्रो गोल हो । समूह चरणमा उनले दुई गोल गरेका थिए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को जित दिलाए । उनले ज्याक ग्रेलिसको पासमा हेडरमार्फत गोल गरेका हुन् । जारी युरोमा उनको यो पहिलो गोल हो । यसैगरि स्विडेनलाई पराजित गर्दै युक्रेन १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेनले अन्तिम आठमा स्थान बनाएको हो । स्कटल्याण्डको ह्याम्पडेन पार्कमा युक्रेनलाई जित दिलाउन ओलेक्सान्डर जिन्चेन्को र अर्टिम दोभ्बिकले एक एक गोल गरे ।
रोमान्चक बनेको खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा अर्टिमले गोल गर्दै युक्रेनलाई २–१ को महत्वपूर्ण जित दिलाए । उनले जिन्चेन्कोको पासमा गोल गरे ।