अस्ट्रेलियाले ल्यायो नया भिषा निती

के के भए परिवर्तन !!
मन बहादुर न्यौपाने

जुलाई १ अर्थात आजवाट अष्ट्रेलियाले आफ्नो प्रवेशाज्ञा नीतिमा केहि फेरबेदल सहित नयाँ गति दिने प्रयास गरेको छ । कोरोनाभाइरस महामारीका कारण सन् २०२० को मार्च महिनादेखि ठप्प भएको आप्रवास सम्बन्धि कार्यक्रमलाई नयाँ आर्थिक वर्षमा पुनर्जागरण गरी आर्थिक समृद्धीको वाटोमा अगाडि बढने निती तय गरिएको प्रधानमन्त्री स्कट मोरिसन सरकारले बताइसकेको छ । यस सम्बन्धमा केही भिषा नितीमा परिवर्तन लागू भइसकेका छन् भने बाँकी परिमार्जनहरू आउँदा दिनहरूमा हुनेछन ।

सरकारले घोषणा गरेको नयाँ नीति अनुरूप हाल अस्ट्रेलियामा नै रहेका तर अस्थायी भिसामा पर्यटन र कृषि क्षेत्रमा कार्यरत मानिसहरूले आफ्नो बसाइँ लम्ब्याउन सक्ने भएका छन । त्यसै गरी देशभित्र रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू जो डिसेबिलिटी, एज केयर, मेडिकल, कृषि, पर्यटन र हस्पिट्यालिटी उद्योगहरूमा काम गर्छन्, उनीहरूले पाक्षिक रूपमा ४० घण्टा भन्दा बढी नै रोजगारी गर्न मिल्ने गरी बाटो सरकारले खुला गरिदिएको छ । विध्यार्थी र वर्कीङ होलिडे भिषामा आउने लाखौ व्यक्तीहरुको अभाव प्रत्यक्ष रुपमा खटकिन लागेपछि मोरिसन सरकारले त्यसलाई परिपुर्ति गर्न यो कदम उठाएको हो । अस्ट्रेलियन सरकार सन् २०२१\२२ को आप्रवास कार्यक्रम १ लाख ६०हजारमा सीमित गर्ने आफ्नो योजनामा अडिग रहेको छ । जसमा अघिल्लो वर्ष २०२०÷२१ का दक्ष कामदारहरूको निमित्त छुट्ट्याइएको ७९ हजार ६ सयलाई समावेश गरिएको छ । गृह मामिला मन्त्रालयका अनुसार अस्ट्रेलियामा रोजगारी सृजना गर्ने, लगानी बढाउने र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने भिसालाई प्राथमिकतामा राखिने भएको छ। सन् २०२०\२१ मा बिजनेस, इन्भेस्टमेन्ट एन्ड इनोभेसन प्रोग्राम अन्तर्गतको भिसा उपलब्धतालाई झन्डै दोब्बर तुल्याउँदै १३ हजार ५सय र ग्लोबल ट्यालेन्ट इन्डिपेन्डेन्ट प्रोग्राम श्रेणीको भिसालाई तीन गुणाले बढाउँदै १५ हजार पुराइएको छ । अर्को महत्त्वपूर्ण परिवर्तन भनेको पार्टनर भिसा अन्तर्गत दुवैले अङ्ग्रेजी भाषाको परीक्षा दिनुपर्ने भएको छ । कृषिमा कामदारको अभाव र यसको प्रत्यक्ष प्रभावका कारण कृषी भिसालाई बढावा दिइएको छ । जसमा यसपटक थाइल्यान्ड, क्याम्बोडिया, ब्रुनाई, बर्मा, फिलिपिन्स, मलेसिया, लाओस्, भियतनाम, सिङ्गापुर र इन्डोनेसियाका कामदारहरूले यस नयाँ व्यवस्था अन्तर्गत कृषी कामदार भिषा उपलब्ध गराइने भएको छ ।
माइग्रेसन अकुपेसन लिस्ट अर्थात स्थायीत्व प्रकृयाको महत्वपुर्ण पाटोमा एकाउन्टेन्ट, इन्जिनियर, सफ्टवेयर डिभेलेपर र सेफ लगायत २२ नयाँ पेशाहरू सूचिकृत गरिएको छ ।
कोरोनाभाइरस पछिको समयमा अस्ट्रेलियाको अर्थतन्त्र उकास्न ती पेशाहरुलाई अत्यन्त आवश्यक भन्दै सरकारले उक्त सूचीमा थपेको हो। उक्त सूचीमा कुल ४१ पेशाहरू सूचीकृत भएका छन् ।अब देखि अस्ट्रेलियाली नागरिकता लिन आवेदन हाल्नेले पहिलेको भन्दा बढी शुल्क तिर्नु पर्ने भएको छ । ३० जुनसम्म २ सय ८५ डलर रहेको अस्ट्रेलियन नागरिकता आवेदन शुल्क नयाँ आर्थिक वर्ष लागेसँगै ४ सय ९० डर हुने भएको छ ।