कालोबजारी गर्ने र उपभोक्ता ठग्नेलाई कडा कारबाही हुने : राज्यमन्त्री विक

असोज ५ । चाडपर्वका बेला महँगीको मारबाट आम उपभोक्तालाई मुक्ति दिलाउनका लागि र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमन कार्यलाई तीव्रता दिइएको आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकले बताएका छन् ।

कञ्चनपुरको झलारीमा उपभोक्ता सँगको भेटघाट कार्यक्रममा आज उनले कालोबजारी गर्ने र उपभोक्ता ठग्नेलाई कडा कारबाही हुने बताए । राज्यमन्त्री विकले आम उपभोक्तालाई सहज रुपमा उपभोग्य वस्तुहरु उपलब्ध गराउने उद्देश्यले सुपथ मूल्यका पसल खोलिएको बताउँदै काठमाडौँ र कैलालीको धनगढी बजारमा अनुगमनका क्रममा कम मूल्यका वस्तुहरु बढी मूल्यमा बेचेको पाइएको बताए ।

उपभोक्ता ठग्नेमाथि कारबाही हुने बताउँदै उनले चाडपर्वका बेला आपूर्ति सहज बनाउनका लागि व्यवसायी र उपभोक्तासँग छलफल गर्ने कार्यसमेत भइरहेको बताएका छन् ।