चितवन, कात्तिक १२ । भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ का बाढी प्रभावितहरुलाई घर निर्माण गर्नको लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
जापानमा बस्ने नेपालीबाट संकलन गरी चितवन समाज जापानले शनिबार एक कार्यक्रमका बीच रु चार लाख रकम रकम प्रदान गरेको हो । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको संयोजनमा भएको कार्यक्रममा त्यहाँका १० घर बाढी प्रभावितको घर निर्माण गर्नको लागि रु चार लाख आर्थिक सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले विदेशमा रगत र पसिना बगाएर कमाएको रकमबाट केही कटाएर बाढीपीडितलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।
रकम हस्तान्तरण कार्यक्रममा चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समिति, नेपालका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले पहिलो चरणको सहयोग कार्यक्रम अन्तर्गत त्यहाँका १० घरलाई जापानबाट आएको सहयोग हस्तान्तरण गरेको बताउँदै अर्को चरणमा अन्य देशबाट संकलन भएको रकम दक्षिण चितवनको माडीका बाढी प्रभावितहरुलाई सहयोग गर्ने जानकारी दिएका छन् ।
गत साउन २८ गते आएको बाढीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १३, २३, २७ र २८ मा धेरै क्षति पुर्याएको महानगरपालिकाले जनाएको छ । त्यहाँका बुद्धिराज महत्तो, तारा महत्तो, सीताराम महत्तो, उजेली कुमाल, श्याम कुमाल, विजय परियार, पूर्णाखर काफ्ले, तेज महत्तो, जीवन महत्तो र यमराज महत्तोको घर बाढीले क्षति पुर्याएको थियो । सो रकम उनीहरुकै घर निर्माणमा खर्च गरिने बताइएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष गोविन्द तामाङले प्राप्त सहयोगको सहि सदुपयोग हुने विश्वास व्यक्त गरे ।