हिमाली जिल्ला सगरमाथाको पुच्छार सोलुखुम्बुको प्रदेश सभा निर्वाचनमा मामा र भान्जाको यस पटक रमाइलो भिडन्त हुनेभएको छ ।
दुई निर्वाचन क्षेत्र प्रदेश सभामा रहेको यस जिल्लामा मामा—भान्जा प्रमुख दुई शक्तिशाली पार्टीबाट चुनावी मैदानमा होमिएका छन् । नेकपा (एमाले) का नेता उत्तम बस्नेत वाम गठबन्धनका तर्फबाट प्रदेश सभा का साझा उम्मेदवार नाताले मामा पर्ने छन् भने उनका प्रकाशसिंह कार्की (भान्जा) नेपाली काँग्रेसबाट सोही पदमा उम्मेदवार बनेका छन् ।
वाम शक्ति र काँग्रेसबीच कडा प्रतिष्पर्धा हुने यस क्षेत्रमा मामा भान्जाको उम्मेदवारीले सोलुखुम्बुमा चर्चाले बजार तातेको छ । कार्की यस क्षेत्रमा जित्ने उम्मेद्वार भए पनि बाम गठबन्धनका संयूक्त उम्मेद्वार बस्नेत पनि कम देखिएका छैनन् । रगतको नाता भएपनि राजनीतिमा फरकफरक धु्रवमा अगाडि बढेपछि मैदानमा जे नतिजा आउँछ हामी सहर्ष स्वीकार गर्न तयार भएको नेपाली कांग्रेसका उम्मेदवार भान्जा प्रकाशसिंह कार्कीले बताएका छन् । उनले भने मैदानमा उत्रिएका छौँ, जे हुन्छ, नतिजा आएपछि थाहा हुन्छ, आएको परिणामलाई स्वीकार गर्नुपर्छ । आफ्नो पक्षमा मत पार्नका लागि नाताले अहिले नछेक्ने र पार्टी र रुख नै अहिले सबैभन्दा महत्वपूर्ण कुरा रहेको कार्कीले जिकिर गरे ।
यस्तै वाम गठबन्धनका तर्फका उम्मेदवार मामा उत्तमकुमार बस्नेतले भने, मामा भान्जाको नाता घरभित्रको नाता हो, तर समाजसेवामा त्यो नातावाद लागू हँुदैन, हामी चुनावी मैदानमा छौँ, यसको निर्णायक जनता हुन् । जनताले जसको पक्षमा मतदान गर्छन् त्यसकै जित अवश्य हुन्छ हामी स्वच्छ प्रतिस्पर्धामा चुनावी मैदानमा होमिएका छौं, आ–आफ्नो क्षेत्रबाट सकेको मत तान्ने कोशिशमा अन्तिमसम्म रहने छौं, बस्नेतले भने । यो प्रदेशको चुनावी परिणाम रोचक भएका कारण यसको फलको प्रतिक्षामा स्थानीय बताउँछन् ।
स्थानीय निर्वाचनको मतलाई हेर्दा यस क्षेत्रमा चार गाउँपालिकामध्ये महाकुलुङ र दूधकौशिका प्रमुखमा माओवादी केन्द्रले जितेको छ भने सोताङ र नेचा सल्यान गाउँपालिका प्रमुखमा एमालेले जितेको हो । स्थानीय तहको मत परिणामलाई आधार मान्दा प्रदेश सभा ‘क’ मा काँग्रेस उम्मेदवार प्रकाशसिंह कार्कीभन्दा गठबन्धनका उम्मेदवार एमालेका उत्तमकुमार बस्नेत चार हजार ८२७ मतले अगाडि छन् ।
स्थानीय चुनाव भन्दा फरक रहेको प्रदेशसभा चुनावमा कसले जित्छ यसै भन्न सकिने अवस्था छैन ।