धुलिखेल, कात्तिक २१ । मतदाता र राजनीतिक दलका प्रतिनिधिहरुलाई मत खरिदबिक्री नगर्न प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आह्वान गरेका छन् ।
मंगलबार निर्वाचन आयोगले आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा डा यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न अनुरोध गर्दै मतदाता शिक्षा र मतदान गर्ने काम मतको सुरक्षा र सुनिश्चितताका लागि भएको र जनताको मतविना प्रजातन्त्र सुदृढ हुन नसक्ने बताए । उनले भने त्यसको सुरक्षा कसरी गर्ने भन्ने जिम्मेवारी हामी र हाम्रो हो । जनशक्ति खटनपटनमा ट्रेड युनियनको प्रभावमा नपरी काम गर्न प्रजिअ र जिल्ला निर्वाचन अधिकृतलाई डा यादवले अनुरोध गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी र निर्वाचन अधिकृत लगायतलाई दबाब आउन सक्छ कि त्यहाँ फलानालाई मिलाइदिनुस् भनेर, त्यो चुनौतीको विषय हो उनले भने । त्यसलाई उचित ढंगले समाधान गर्दै मतदानस्थलमा खटिने जनशक्तिको उचित व्यवस्थापनका लागि लाग्न अनुरोध गरे । डा यादवले राजनीतिक दल र जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिलाई नगरमा सरसफाइको काममा ध्यान दिन पनि अनुरोध गरेका छन् । निर्वाचनमा नगर बोर्ड, ब्यानर, झण्डा र पोष्टरले रंगाउन सक्ने भएकाले त्यस्ता वस्तुलाई मनगर र नगरभित्र राख्न नलगाउन सम्बन्धित पक्षलाई आग्रह गर्दै उनले नगरलाई आजैदेखि सफा राख्नका लागि आफु प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र नगरपालिकालाई अनुरोध गर्न चाहेको बताए ।
नगरको सभ्यता जनताको सम्पत्ति भएकाले फोहर गर्न नदिनुस् उनले भने । आयोगका सहसचिव नवराज ढकालले मतदानको प्रक्रियामा केही परिमार्जन भएकाले त्यसमा ध्यान दिन सबै कर्मचारीलाई आग्रह गरे । मतपत्रमा भएको डिजाइन र मतदान प्रक्रियामा भएको लेआउटको परिवर्तनको बारेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई थप प्रशिक्षण गराउनुपर्ने भएको ढकालले बताए । त्यससँगै ४०० भन्दा बढीको संख्यामा विदेशी पर्यवेक्षक पनि आउने भएकाले उनीहरुले हेर्ने विषयमा ध्यान दिन आग्रह गरे ।
मङ्गलबार र बुधबार गरी दुई दिनसम्म चल्ने प्रशिक्षणमा काभ्रेपलाञ्चोक लगायत, काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, रौतहट, पर्सा, चितवन, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप र सिन्धुली गरी १७ जिल्लाका ८१ अधिृकतको सहभागिता रहेको छ ।