काठमाडौँ, कात्तिक २४ । विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको १०३औँ जन्मजयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गरिएको छ ।
स्व गणेशमान सिंहको स्मृतिमा आज फाउण्डेशनले शोभाभगवतीमा आयोजित कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको बताए ।
स्व सिंह संघर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढंगले नेतृत्व गर्ने नेता भएको उनले भने । मुलुकमा विवादित भएका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन गणेशमान सिंहले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री सिंहले एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन स्व सिंहको महत्वपूर्ण योगदान रहेको बताए ।
उनले बहुदलीय संसदीय व्यवस्था मानेर आएका कम्युनिष्टहरु फेरि एकदलीय कम्युनिष्ट शासन व्यवस्था कायम गर्छु भन्नु गलत कुरा भएको स्पष्ट पार्दै विश्वमा समाप्त भएको कम्युनिस्ट व्यवस्था नेपालमा लागू हुन नसक्ने जिकिर गरे ।