– बद्री पन्त
जाजरकोट, मंसिर ३ । आसन्न मंसीर १० गते नजिकींदै गर्दा चुनावी माहोल उत्कर्षमा पुगेको छ । राजनिति दलका नेता कार्यकर्ता आफ्ना उम्मेदवारको पक्षमा मत पार्न गाउँ केन्द्रित बनेका छन् ।
बामगठगबन्धन, का“ग्रेस, नया“ शक्ति लगाएत उम्मेदवार र तिनका कार्यकर्ता गाउ गाउँमा आमसभा, बैठक, भेटघाट र घरदैलो गर्न ब्यस्त देखिन्छन् । प्रतिनिधी सभाका उम्मेदवारलाई ७ स्थानीय तहमा रहेका ३१ हजार घरधुरीमा पुगेर भोट माग्न भ्यानभ्याई छ ।
२ हजार ३ सय बर्गकिलामीटर भुगोलका ८३ हजार मतदातालाई भेटेरै भोट माग्न उनीहरुलाई भ्याइ नभ्याई भएको हो । विगतमा २ निर्वाचन क्षेत्र रहेको जाजरकोट यसपटक एउटै क्षेत्र भएपछि उम्मेदवारलाई गाउ गाउ पुग्न सकस पनि भएको छ । पुर्वको भगवतीदेखि पश्चिमको जुनीबस्ती झण्डै ६० कोसको दुरीमा छ । उम्मेदवारलाई भगवतीदेखि जुनीसम्म पुग्नै ७ दिन पैदल हिड्नु पर्ने हुन्छ । प्रतिनिधी सभाका उम्मेदवारलाई जिल्ला भर घुम्न मात्र १ महिना बढी समय लाग्ने देखिन्छ । त्यस्तै प्रदेश सभा ‘क’ र ‘ख’ का उम्मेदवारलाई पनि आआफ्नो क्षेत्र घुम्नै २ साता बढी लाग्दछ । प्रचारमा गाउ निस्केका उम्मेदवार सबै बस्तीमा पुगेर भोट माग्न नभ्याउने लहँका गोविन्द ओलीले बताए ।
बामगठबन्धनबाट प्रतिनिधी सभा उम्मेदवार शक्तिबहादुर बस्नेतको टोली शुक्रवार कुशे गाउपालिकाको अर्छानीमा पुगेको छ । बस्नेतको टोलीले ३ साता अघि खलंगाबाट घरदैलो, कार्यकर्ता भेटघाट, आमसभा लगाएत कार्यक्रमको शुरु गरेको थियो । बामगठबन्धनले चुनाव प्रचारका क्रममा दल्ली, तल्लुबगर, लिम्सा, घरंगा, सानाखेला, थलह, मनघाट, टापुचौर लगाएत मुख्य स्थानमा आमसभा गरेको छ । त्यस्तै का“ग्रेसबाट प्रतिनिधी सभा उम्मेदवार राजिवविक्रम शाहको टोलीले पनि खलंगाबाट २० दिन अघि शुरु गरेको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम पश्चिमको झाप्रामा पुर्याएको छ । शाहको टोलीले पूर्वको भगवतीदेखि पश्चिमका अधिकांश गाउमा पुगेर भोट माग्न घरदैलो गरेका छन् ।
चुनावी प्रचारका क्रममा बामगठबन्धनका उम्मेदवार तामझाम सहित आमसभामा बढी केन्द्रित भएका छन् । का“ग्रेसका उम्मेदवार भने कार्यकर्ता भेटघाट र घरदैलोमा बढी केन्द्रित छन् । तामझामका साथ आमसभा गर्नु भन्दँ जनताको घरदैलोमा पुगेर भोट माग्दा फाईदा हुने प्रदेश सभा ‘क’ का उम्मेदवार बेदराज सिंहले बताए । निर्वाचन क्षेत्रमा रहेका सबै मतदाताको घरघरमा पुगेरै भोट माग्ने योजना बनाएको उनले बताए । आम मतदातालाई बामगठबन्धन र एकता सन्देश दिन मुख्य स्थानमा आमसभा गर्नु परेको अर्का उम्मेदवार गणेश प्रसाद सिंहले बताए । आमसभा पछि घरदैलोको कार्यक्रम शुरु हुने सिंहले बताए । भौगोलिक विकटता कारण सबैका घरदैलोमा पुगेर भोट माग्ने चुनौती भएको उनले बताए ।
पहिलो चरणको निर्वाचनको शिलशिलामा दुर्गम गाउमा दलका नेता कार्यकर्ताले भरीभराउ भएका छन् । गाउगाउमा झण्डा, ब्यानर, पोष्टर र पम्पलेट पनि छ्याप्छ्याप्ती छन् । दुई पक्षीय प्रतिश्पर्धामा उत्रेका बामगठबन्धन र का“ग्रेसका उम्मेदवार भोट माग्न एकैसाथ ग्रामीण बस्ती छिरेका हुन् । तर चुनावको मुखमा जिल्लाको सदरमुकाम खलंगा बजार भने सुनसान देखिन्छ । खलंगामा न नारा जुलुस न त माईकीङ्ग । पोष्टर र ब्यानर पनि खासै देखिंदैनन् । उम्मेदवार, नेता तथा कार्यकर्ताले प्रचार समेत गरेको पाईदैन । सदरमुकाममा कर्मचारी शिक्षक, म्यादी, प्रहरी र सेनाको उपस्थिति मात्र देखिने गरेको छ । प्रतिनिधी सभा निर्वाचनका लागि ८३ हजार ९ सय ३८ मतदाता र १ सय १६ मतदान केन्द्र रहेका छन् ।