विकास र समृद्धिका काममा पार्टीले अगुवाइ गर्ने : नेता शर्मा

मंसिर १४ । आफूहरूले घुस नखाने र कसैलाई पनि घुस खान नदिइने नेपाली काँग्रेसका नेता एवं कास्की क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार शुक्रराज शर्माले बताएका छन् ।

पोखरा लेखनाथ महानगरपालिका– २५ स्थित पीपलडाली समाजले आयोजना गरेको कार्यक्रमको सम्बोधन गर्दै उनले समाजमा सुशासन कायम गराई विकास र समृद्धिका काममा पार्टीले अगुवाइ गर्ने बताए । जनताको उन्नत एवं समान आर्थिकस्तर कायम गराउने कांग्रेसको नीति रहेको उल्लेख गर्दै उनले सुकुम्बासीलाई भूमिको मालिक बनाउने पार्टीको लक्ष्य रहेको बताए ।

काँग्रेसबाट कास्की क्षेत्र नं ३ प्रदेश (क) का उम्मेदवार शारदा पौडेलले पीपलडाली र आसपासका क्षेत्रको बाटोघाटो, खानेपानीको समस्याका साथै सुकुम्वासीका सम्पूर्ण समस्याको समाधान गरिने प्रतिबद्धता जनाए ।

पीपलडाली समाजका अध्यक्ष हुमवीर पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, समाजका सचिव आशबहादुर गुरुङ, शिव तिमल्सिना लगायतले समाजको समृद्धि र विकासका निम्ति काँग्रेसलाई नै भोट दिन अनुरोध गरे ।