आचारसंहिता पालना नगर्नेलाई कारबाही : प्रमुख आयुक्त यादव

काठमाडौं, मंसिर १९ । २१ गते ४५ जिल्लामा हुने प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकोले निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सम्पूर्ण मतदाताहरुलाई अनुरोध गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारलाई सम्बोधन गर्दै आयुक्त यादवले सुरक्षाको समेत बलियो प्रबन्ध सरकारले गरेको हुँदा ढुक्क भएर मतदान गर्न अनुरोध गरेका हुन् । यद्यपी उनले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेद्धवारलाई लक्षित गरेर भएका घट्नाहरुप्रति दुःख व्यक्त गरे । निर्वाचनमा व्यापक उत्साह देखिएको भन्दै आयुक्त यादवले आफूहरुले निर्वाचनलाई पर्वको रुपमा लिएको समेत बताएका छन् ।

डा. यादवले निर्वाचनको व्यवस्थापकीय काम समेत आयोगले पूरा गरिसकेको जनाएका छन् । उनले आयोगका पदाधिकारीहरु निर्वाचन हुने ४५ वटै जिल्लाको लागि सुक्ष्म अनुगमन गर्ने काममा व्यस्त रहेको समेत बताए । यादवले मतदान सकिए लगत्तै सुरक्षित तवरले मतपेटिकाहरु केन्द्रमा पुर्याउनको लागि समेत सम्बन्धित कर्मचारीहरु तयारी अवस्थामा रहेको जानकारी गराउँदै मतगणनाको लागि पनि आयोगले आवश्यक निर्देशिका जारी गरिसकेको स्पष्ट पारे । प्रत्यक्षतर्फको मत परिणाम एक हप्ताभित्रै आउने गरि आयोगले निर्देशन दिएको पनि उनले बताए । त्यस्तै मतगणनामा कुनै अप्रिय घट्ना नघटोस् भनेर निर्वाचन अधिकृतलाई सिसिटीभी राख्नको लागि निर्देशन दिईएको भन्दै उनले ‘मतगणना छिटोछरितो गर्न सबै प्रकृया पुर्याइएको बताए ।

मौन अवधि सुरु भएकोले यो अवधिमा सबै सरोकारवालाहरुले विशेष ध्यान दिन यादवले आग्रह गरे । उनले मौन अवधिमा आचारसंहिता विपरित काम गरेको पाईएमा आयोगले कडाभन्दा कडा कारबाही गर्ने चेतावनी दिएका छन् । यद्यपि यादवले आचारसंहिताको पालना पूर्ण रुपमा भैरहेको विश्वास व्यक्त गरे ।

पहिलो चरणको निर्वाचनमा हिमाली, विकट स्थानमा हुँदा पनि ६५ प्रतिशतमत खसेको भन्दै दोस्रो चरणको निर्वाचनमा ७० प्रशितभन्दा बढि मत खस्ने विस्वास व्यक्त गरे ।