निःशुल्क पाठेघर तथा स्तन परीक्षणबाट २०० महिला लाभन्वित

पर्वत, पुस ९ । पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार सम्पन्न भएको शिविरबाट २०० भन्दा बढीले लाभ लिएका छन् ।

उक्त शिविरमा महिलाको पाठेघर तथा स्तनको परीक्षण गरिएको थियो । चेतनाको अभावका कारण महिलामा समस्याका रुपमा देखिदै आएकोे स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी एकदिने शिविरमा महिलाहरुले उल्लेख्य रुपमा सहभागीता जनाई परीक्षण गरिएको हो ।

स्थानीय सामाजिक संस्था सिसेफ नेपाल पर्वतको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा उपचार गर्नका लागि सदरमुकाम कुश्मा बजारका साथै गाउँगाउँदेखि महिला सहभागी भएका थिए । आर्थिक अभावका कारण लामो समयसम्म रोगबाट पीडित भई बसेका महिलाको पनि शिविरमा उपचार गरिएको क्लबका संस्थापक टंक लामिछानेले बताए ।

उक्त अवसरमा पाठेघरमा मासु पलाएका, पाठेघरको क्यान्सर भएका तथा स्तनमा गाठागुठी, स्तन क्यान्सरको लक्षण देखिएका बिरामी भेटिएका थिए । उनीहरूलाई आवश्यक सल्लाहसहित औषधिसमेत वितरण गरिएको थियो । यसअघि उक्त शिविरको प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य पदम गिरीले उद्घाटन गरेका थिए ।

शिविर उद्घाटन गर्दै सांसद गिरीले देशमा नागरिक स्वस्थ रहेमात्र राष्ट्र समृद्ध हुने बताउँदै सबै नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने विचार व्यक्त गरेका थिए । स्थानीय लायन्स क्लबको साझेदारीमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

यस्ता संवेदनशील शिविर सदरमुकाममा मात्र नभई गाउँगाउँमा सञ्चालन गर्नुपर्ने कुरामा सहभागीहरुले जोड दिएका थिए ।