काठमाडौँ, पुष १० । काँग्रेसलाई सुधारको आवश्यकता परेको नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।
नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा बोल्दै उनले निर्वाचनमा काँग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब पार्टीमा सुधारको आवश्यकता परेको औल्याएका छन् ।
काँग्रेसका शुभेच्छुक र कार्यकर्ताले पार्टीलाई सुधारको खाँचो छ भनेर मलाई सुझाव दिइरहेका छन्, पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु उनले भने । नेता सिंहले विधान अनुसार चल्न नसक्दा पार्टीले कमजोर नतिजा बेहोर्नु परेको बताए ।
समानुपातिकमा प्राप्त मतले पनि काँग्रेसप्रतिको जनताको मोह घटेको नघटेको उनको भनाई छ । काँग्रेसले आफ्नो सरकारका पालामा गरेका राम्रा कामलाई प्रचारप्रसार गर्न नसक्दा कमजोर नतिजा आएको नेता सिंहले बताए । विकासप्रति जनताले नेताको मुखमात्र ताक्नु भन्दा पनि नेताहरुलाई दबाब दिनुपर्ने उनले बताएका छन् ।