काठमाडौं, पुष १७ । पछिल्लो समय नेपाली काँग्रेस भित्र देखिएको विवाद र त्यसमा आउने विभिन्न धारणामा फरक तरिकाले प्रस्तुत हुने गरेका छन् नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला ।
महामन्त्रीडा शशांक कोइरालाले नेपाली काँग्रेसमा एक अर्कामा आरोप प्रत्यारोपभन्दा पनि एकता आवश्यक रहेको प्रष्ट्याएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस, कास्कीद्वारा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले हालै सम्पन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनमा गणितीय रुपमा हार जस्तो देखिए पनि हारको मनस्थितिमा रहनु आवश्यक नभएको स्पष्ट पारेका छन् ।
निर्वाचनलगायतका विषयमा पार्टी केन्द्रले चाँडै नै समीक्षा गर्ने बताउँदै उनले आगामी दिनमा पार्टीलाई कुन रुपमा अघि बढाउने लगायतका विषयमा छलफल गरिने बताएका छन् ।
पार्टीभित्र सभापतिलाई मात्र दोष दिएर नहुने बताउँदै सर्वप्रथम आफूलाई नै हेर्नुपर्ने, आफू हार्नुमा पार्टी सभापति मात्र दोषी देखाइनु, सभापतिले राजनीनामा दिदैमा पार्टी सुध्रिन्छ भन्ने सोच्नु गलत भएको स्पष्ट पारेका छन् । कोइरालाले भने टिकट वितरणलगायतका धेरै कुरामा त्रुटी भए होलान् तर यी सबै त्रुटि आगामी दिनमा सच्याएर अघि बढ्नु आवश्यक छ ।
काँग्रेसलेआगामी दिनमा सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै महामन्त्री कोइरालाले पार्टी संगठनलाई सुदृढ र एकताबद्ध गराएमा मात्र बिपीप्रति सच्चा सम्मान हुने स्पष्ट पारेका छन् ।