काठमाडौँ, पुस १८ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को सातौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा हुने भएको छ । महासंघ राष्ट्रिय कमिटीको बैठकले आगामी चैत १४–१७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको महासचिव विष्णु लम्सालले जानकारी गराए ।
‘सुदृढ लोकतन्त्र र समृद्ध श्रमजीवी वर्ग’ भन्ने मूल नाराका साथ हुने महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ । बैठकले फागुनमा युवा सम्मेलन र महिला सम्मेलन गर्नेसमेत निर्णय गरेको जानकारी लम्सालले गराए ।
यसैगरी जिफन्टले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको निर्वाचन परिणाम तुरुन्त सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ । बैठकमा जिफन्ट महाधिवेशन प्रतिनिधि परिषद् प्रमुख मुकुन्द न्यौपाने तथा जिफन्ट अध्यक्ष विष्णु रिमालले समसामयिक राजनीति र आगामी दिनमा ट्रेड युनियनले खेल्नुपर्ने भूमिकाका विषयमा मन्तव्य राखेका थिए ।
जिफन्ट अध्यक्ष रिमालले जिफन्ट एकीकृत ट्रेड युनियन आन्दोलनका पक्षमा रहँदै आएको र आगामी दिनमा अन्य ट्रेड युनियनसँगको एकता प्रक्रियालाई निरन्तरता दिइने बताएका छन् ।