भक्तपुर, पुस २० । नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा नारायण खड्काले बताएका छन् ।
रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै डा खड्काले निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न कानूनी अड्चनका कारण ढिलाइ भइरहेको जनाउँदै नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको प्रस्ट्याएका छन् । उनले राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकारलाई सत्ता हस्तान्तरण गरी काँग्रेस प्रतिपक्षको भूमिकामा रहन तयार रहेको उल्लेख गरे । काँग्रेसले नयाँ सरकार गठनका लागि कोही कसैसँग कुनै सहमति र सम्झौता नगरेको स्पष्ट पार्दै डा खड्काले प्रचण्डसँग सरकार गठनका विषयमा सहमति र सम्झौता भएको भन्ने विषय हल्ला मात्र भएको बताए ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ठूला दुई शक्ति एक ठाउँमा भएका कारण काँग्रेसले हार व्यहोर्नुपरेको केन्द्रीय सदस्य खड्काको भनाई छ । राष्ट्रियसभाको निर्वाचन नभएसम्मका लागि अहिलेको सरकार नै मान्य हुने हुँदा यो सरकारलाई कामचलाउ भन्न नमिल्ने उनको दाबी छ ।