निर्वाचनमा घाइते भएकाको उपचार राज्यले गर्नुपर्ने माग

काठमाडौँ, पुष २७ । निर्वाचनमा पूर्वअर्थमन्त्री डा रामशरण महतलाई लक्षित गरी ककनी गाउँपालिकामा भएको बम विस्फोटमा घाइते विद्यार्थी उपेन्द्र मिश्रसहित चुनाबका क्रममा घाइते भएका देशभरका व्यक्तिको उपचार राज्यले गर्नुपर्ने माग गर्दै नेपाली काँग्रेस नुवाकोट जिल्लाशाखाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

आज जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको नेतृत्वमा बालुवाटार पुगेको टोलीले भूकम्पपीडितलाई दिएको कम रकमले तिनको घर निर्माणमा समस्या भएको भन्दै रु दुई लाख थप गर्न अनुरोधसमेत गरेको छ ।

यसैगरी पृथ्वीनारायण शाहले बाइसे–चौबिसे राज्य विजयका क्रममा नुवाकोटलाई राजधानी बनाउन उपयुक्त स्थान देखेका थिए त्यसैले अहिले पनि प्रदेश नं ३ को अस्थायी राजधानी नुवाकोट बनाउन पनि सो टोलीको माग छ ।

भेटमा प्रधानमन्त्री देउवाले उक्त टोलीले उठाएका मागमा आफू गम्भीर भएको र यस विषयमा छलफल गरेर आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी नेविसंघका नेता निरञ्जन थापाले बताएका छन् ।