काठमाडौँ , पुस ३० । नेपाली काँग्रेसले प्रतिनिधि सभा तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी गरिरहेको नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आइतवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पार्टीलाई बलियो र सशक्त बनाएर अगाडि बढाउनका लागि गम्भीर छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन लागिएको स्पष्ट पारे । पार्टीभित्र पराजयबारे गम्भीर समीक्षा गरेर नवजीवन दिने बाटोमा अगाडि बढ्नुपर्ने उनले बताए ।
हामी बदलिन्छौँ, देश बदल्छौँ भन्ने दृढ इच्छा राखेर उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्र सफल हुने उनको भनाइ थियो ।
प्रवक्ताशर्माले केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने प्रष्ट पारे ।
नेता शर्माले काँग्रेसले कुनै पार्टीको कुनै नेतालाई प्रधानमन्त्री हुन प्रस्ताव नगरेको प्रष्ट पार्दै पार्टी जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने प्रष्ट परेका छन् । नेता शर्माले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको जानकारी गराउँदै राष्ट्रियसभाको निर्वाचनपछि आगामी फागुनको पहिलो वा दोस्रो हप्तामा नयाँ सरकार बन्ने जानकारी गराएका छन् ।