राष्ट्रियसभा निर्वाचन प्रक्रियाका बारेमा छलफल

काठमाडौँ, माघ २ । आसन्न राष्ट्रियसभा निर्वाचनको कार्यक्रम र प्रक्रियाका बारेमा निर्वाचन आयोगले पाँच राजनीतिक दलका नेतालाई अवगत गराएको छ ।

आयोगले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने उक्त निर्वाचनका विविध पक्षमाथि जानकारी गराएका हुन् । निर्वाचनमा प्रदेश र स्थानीय तहका गरी कूल दुई हजार ५६ मतदाता रहेका छन् ।

बैठकपछि नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचन कार्यक्रम तथा प्रक्रियाका बारेमा जानकारी गराएको प्रतिक्रिया दिए । सरकारले संविधान र कानूनअनुसार प्रदेशको अस्थायी राजधानी तोक्ने काम गर्ने उनको भनाइ छ । उनले भने– अस्थायी राजधानी तोक्दा राजनीतिक सहमति हुने मैले विश्वास लिएको छु ।

बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले राष्ट्रियसभाको निर्वाचन बारेमा आयोगले गरेका तयारीका बारेमा छलफलमा जानकारी गराएको बताए । बैठकमा नेकपा (एमाले) का तर्फबाट नेता नेम्वाङ, अग्नि खरेल, नेकाका तर्फबाट नेता लेखक, बालकृष्ण खाँण, नेकपा (माओवादी केन्द्र) का तर्फबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामनारायण बिँडारी, संघीय समाजवादी फोरमका तर्फबाट राजेन्द्र श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका तर्फबाट नेता महन्थ ठाकुर तथा आयुक्तहरु ईश्वरी पौडेल, नगेन्द्र दाहाललगायतको सहभागिता रहेको थियो ।