तीन दिनभित्रै राष्ट्रियसभा निर्वाचनको नतिजा आउने

काठमाडौं, ८ माघ । आगामी माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनको अन्तिम मतदाता नामावली निर्वाचन आयोगले आज प्रकाशन गर्ने भएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न लागेको जानकारी दिएका छन् । हिजो प्रारम्भीक नामावली प्रकाशन गरेको आयोगले दावी विरोध र उजुरीमाथी छानविन कार्य जारी राखेको छ । प्रदेश अनुसार निर्वाचन अधिकृतको कार्यालवाट मतदाता नामावली प्रकाशन गरिने छ ।

आज अन्तिम नामावली प्रकाशन पछि १० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका रहेको आयोगले बताएको छ ।

राष्ट्रिय सभा निर्वाचनको नतिजा तीन दिनभित्रै आउने

राष्ट्रिय सभा निर्वाचनको परिणाम मतदान भएको तीन दिनभित्र घोषणा गरिसक्ने निर्वाचन आयोगलले बताएको छ । आयोगका प्रवक्ता नवराज ढकालले मतदाताको संख्या तुलनात्मक रूपमा कम हुने भएकाले माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनको परिणाम तीन दिनभित्र घोषणा गरिसक्ने बताएका छन् ।

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट महिला ३, खुल्ला सदस्य ३, दलित १ तथा दलित र अपाङ्ग वा अल्पसंख्यक १ गरी जम्मा ८ जना प्रतिनिधि छनोट हुनेछन् । निर्वाचनमा महिला, खुल्ला, दलित र अपाङ्ग वा अल्पसंख्यकको लागि आठ छुट्टा–छुट्टै मतपत्र छापिने व्यवस्था गरिएको छ ।

७ प्रदेशबाट आठजनाको हिसाबले ५६ जना तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ३ जना सदस्य मनोनित गरेपछि ५९ सदस्यीय राष्ट्रिय सभा बन्नेछ ।