पुस्तक व्यवसायीलाई मर्यादित हुन शिक्षा राज्यमन्त्रीको अनुरोध

काठमाडौँ, माघ ८ । पुस्तक व्यवसायीलाई मर्यादित हुन शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले अनुरोध गरेका छन् ।

पाँचौँ राष्ट्रिय पुस्तक दिवस एवं वसन्तपञ्चमीका अवसरमा राज्यमन्त्री अधिकारीले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, काठमाडौँद्वारा ‘पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक दिवसको महत्व’ विषयक विचार गोष्ठीमा पुस्तक व्यवसायमा हुने विकृति र विसंगतिलाई निरुत्साहित गरी मर्यादित रुपमा पठन संस्कृतिको विकासमा लाग्न अनुरोध गरेका हुन् ।

पुस्तकालयलाई व्यवस्थित गर्न डिजिटल प्रविधिलाई विद्यालय तहसम्म आत्मसाथ गराउन पहल गरिएको उनको भनाइ छ । नेकपा (एमाले) का केन्द्रीय सदस्य ठाकुर गैह्रेले आफूहरु विद्यार्थी आन्दोलनमा लाग्दा पुस्तक पढ्न पाउने अधिकारका लागि लडाइँ गर्नुपरे पनि अहिलेको लोकतान्त्रिक गणतन्त्रले लेखकीय र अभिव्यक्ति स्वतन्त्रता दिएकाले यसको उपयोगमा जोड दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पठन संस्कृतिको विकासका लागि राज्यका सबै निकायले पुस्तकलाई प्रवद्र्धन गर्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र) का पोटिलब्युरो सदस्य हिमाल शर्माले प्रत्येक स्थानीय तहमा पुस्तकालयको विकास र प्रवद्र्धन गर्नुपर्ने कुरामा जोड दिए ।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले प्रविधिको विकासले पुस्तकलाई मोबाइलको एप्समा सीमित गरिसके पनि नयाँ पुस्तालाई आवश्यक र सन्देशमूलक पुस्तकको सही बजारीकरण हुन नसकेको बताए ।

पुस्तक दिवसलाई नेपाल सरकारले राष्ट्रिय मान्यता दिनुपर्ने महासंघका केन्द्रीय अध्यक्ष हरि अर्यालले माग गरे ।