आगामी चैतदेखि पुराना सवारी सञ्चालनमा रोक

काठमाडौँ, माघ १९ । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा आगामी चैतदेखि रोक लगाइने भएको छ ।

काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भएको हो । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ संशोधन गरी आउँदो चैतदेखि देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको हो ।

विभागले गत वर्ष फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाएको थियो । विभागले उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउन गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन हुन नसक्दा प्रदूषण बढेको यातायात क्षेत्रको विकृतिका विरुद्धमा अभियान सञ्चालन गरिरहेका भक्तपुरका रामबहादुर थापाले जानकारी दिए ।

विभागका महानिर्देशक रुपनारायण भट्टराई वि.सं २०७३ फागुनदेखि उपत्यकाबाट २० वर्ष पुराना सवारी हटाउन गरेको निर्णय पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको स्वीकार्छन् । नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ साल फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय भएको हो, उपत्यकाबाट नहटेका २० वर्ष पुराना सवारी पनि फागुन मसान्तसम्म हटाइनुपर्ने नहटाए कानूनी व्यवस्था अनुसार सवारी साधन नियन्त्रणमा लिइने र चल्न नपाउने उनको भनाइ छ ।

विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने बताइएको छ । हाल देशभर २० वर्ष पुराना पाँच हजार ५०० सवारी साधन सञ्चालनमा रहेका छन् ।