काठमाडौँ, माघ २६ । जापान सरकारको सहयोगमा निर्मित गणेशमान सिंह कम्युनिटी सेन्टर हस्तान्तरण गरेको छ । जापान सरकारको रु ८१ लाख लागतमा काठमाडौँको तिनकुनेमा निर्माण भएको उक्त सेन्टरको आज नेपालका लागि जापानी राजदूत मासासी ओगावाले गणेशमान सिंह फाउण्डेशनका अध्यक्ष प्रकाशमान सिंहलाई हस्तान्तरण गरेको हुन् ।
फाउण्डेशनका अध्यक्ष एवं काँग्रेसका नेता सिंहले नेपाल–जापानको छ दशक लामो मैत्री सम्बन्धलाई जनस्तरमा थप प्रगाढ बनाउन जापान सरकारले सेन्टर निर्माण गरी राम्रो काम गरेको बताएका छन् ।
उनले स्थानीय बासिन्दाको आवश्यकता अनुसार कम्युनिटी सेन्टरको निर्माण भएको उल्लेख गरे । नेता सिंहले जनआन्दोलनका कमाण्डरका नाममा स्थापना भएको कम्युनिटी सेन्टरले स्थानीय जनतालाई परेका समस्या समाधान र विभिन्न कार्यक्रम निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट पारे ।
जापानी राजदूत ओगावाले गणेशमान सिंहको नाममा आफूले कम्युनिटी सेन्टर निर्माण गरेर फाउण्डेशनलाई हस्तान्तरण गर्न पाएकामा ज्यादै खुशी रहेको बताएका छन् । उक्त सेन्टरमा सेमिनार, गोष्ठी, बैठक, खेललगायतका कार्यक्रम गर्न सकिने गरी निर्माण गरीएको छ ।