काठमाडौं, फागुन ७ । हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेर आतंक मच्चाउँदै आएको मनोज पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले भारतको तटीय राज्य गोवाबाट नियन्त्रणमा लिएको छ ।
फागुन ६ गते गोवाबाट नियन्त्रणमा परेका पुनलाई प्रहरीले नेपाल ल्याउँदै गरेको छ । सिआइबीले यस बारेमा औपचारिक रुपमा जानकारी नदिएपनि मनोज पुनका निकट रहेको बताउनेहरुले बुटवलमा संवाददाताहरुलाई फोन गरि पुन पक्राउ परेको जानकारी दिएका हुन् । नम्वर नदेखिने फोनबाट पुनका सहयोगी बताउनेहरुले फोन गरि पुनलाई सादा पोसाकका प्रहरीले ६ गते आइतवार गोवाबाट नियन्त्रणमा लिएको जानकारी दिएका हुन् ।
नेपाल प्रहरीको टाउको दुखाइ भएको पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीले एक विशेष टोली नै खटाएको थियो । प्रहरीका एक सईको कमाण्डमा विशेष टोली पुनलाई नियन्त्रणमा लिन उसलाई भेटिने सम्भावित ठाउँहरुको पहिचान गर्दै करिव ३ महिनादेखि भारतमा रहेको थियो । बुटवलमा युवा संघका नेताहरुको हत्यामा संलग्न रहेको पुन समुहले काठमाडौं समिरमानसिंह बस्नेत समुहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको समेत हत्या गरेको जिम्मा लिएको थियो ।
एक पछि अर्को गर्दै व्यक्ति हत्यामा संलग्न रहेपछि नेपाल प्रहरीको लागि पुन समुह टाउको दुखाइ हुँदै आएको थियो । राजनीतिक रुपमा पनि प्रहरीलाई दवाव आउन थालेको थियो । आपराधिक काममा संलग्न रहि फरौती धन्दामा संलग्न पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीलाई एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुनु अगाडी पनि भन्दै आएका थिए ।
तत्कालिन गृहमन्त्री तथा प्रधानमन्त्री शेर बहादुर देउवाले पनि फिरौती र हत्यामा संलग्न पुनको समुहलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिएका थिए । पुनले पछिल्ला दिनमा यूवा संघ र एमालेका नेता कार्यकर्ताहरुलाई धम्क्याउन थालेपछि यो बिषय प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पनि पुगेको थियो ।
एमालेका स्थानिय नेता सिद्धिचरण भट्टराई लगायतलाई पुनको समुहले धम्कयाउँदै आएको छ । पुनकै समुहले करिव दुई महिना अगाडी काठ व्यवसायी तथा यूवा संघका नेता वसन्त पौडेल बल्लुलाई हत्या गरेको थियो भने यूवा संघकै दुर्गा तिवारीलाई ४ बर्ष अघी हत्या गरेको थियो ।
यूवा संघ रुपन्देहीका तत्कालिन कोषाध्यक्ष समेत रहेका पुन आपसी लेनदेनको कुरामा मनमुटाव भएपछि आफ्नो समुह बनाएर धम्की फिरौती र हत्यामा संलग्न रहँदै आएका थिए ।
साभार हाम्राकुरा डटकम