हेटौँडा, फागुन ७ । स्थानीय निकायका जनप्रतिनिधिले आफ्नो आचरण व्यवहार र कार्यशैलीमा परिवर्तन गरी जनतालाई प्रजातन्त्रप्रतिको जनआस्था वृद्धि गर्नेतर्फ उन्मुख हुनुपर्ने प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् ।
६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रदेश नं ३ प्रदेश राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समितिले आज हेटौँडामा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय अखण्डताप्रति जगेर्ना गरी जनताको आर्थिक समृद्धि गर्नेतर्फ लाग्नुपर्ने बताए ।
मुख्यमन्त्री पौडेलले प्रदेश नं ३ अन्तर्गत केही जिल्लामा ऊर्जा शक्तिको उत्पादन गरी औद्योगिक विस्तारलाई टेवा पुर्याउन संघीय सरकारले गुरुयोजना तर्जुमा गरी राष्ट्रलाई आत्मनिर्भर बनाउने योजनालाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त अवसरमा राष्ट्रिय झण्डोत्तोलन गरेका थिए ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने क्रममा हेटौँडाको बुद्धचोकबाट निस्केको झाँकीसहितको र्यालीले स्थानीय नगर परिक्रमा गरी सिद्धार्थ उच्च माविको प्राङ्गणमा पुगेपछि समारोहमा परिणत भएको थियो ।