राडीपाखी लोप हुँदै

जाजरकोट, फागुन १३ । कुनै समयमा राडीपाखी बेचेर राम्रो आम्दानी हुने गर्दथ्यो । तर अहिले राडीपाखी लोप हुँदै जान थालेको पाइन्छ ।

बारेकोट गाउँपालिका जिरीका हरि शाहीले एक समयमा मासिक ६ वटा राडीपाखी उत्पादन गर्ने गर्दथे । उनलाई राडीपाखीको धेरै माग आउँदा राडी तयार गर्न समस्या पर्ने गथ्र्यो । आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ । उनी मात्र नभएर जिल्लामा राडीपाखी व्यवसायलाई आफ्नो प्रमुख पेसा बनाएकाको व्यवसाय पनि संकटमा पर्दै जान थालेको छ ।

आफूले सिकेको सीप दोस्रो पुस्तामा हस्तान्तरण हुन नसक्दा उनीहरूको व्यवसाय संकटमा पर्ने गरेको हो । बजारमा अनेको किसिमका गलैँचा, कम्बल लगायतका सामग्री आउनाले आफ्नो व्यवसाय संकटमा पर्दै जान थालेको उनीहरूको भनाइ छ । जाजरकोटमा परम्परागत रूपमा बुनिँदै आएका राडीपाखी र बख्खु बिस्तारै लोप हुँदै गएका छन्  । केही वर्षअघि सम्म हरेक घरमा भेडा तथा बाख्राको ऊनबाट तयार गरिने कपडाको प्रयोग हुने गथ्र्यो ।

स्थानीयवासी जनकबहादुर शाहीका अनुसार बजारमा तयारी कपडा सस्तोमा पाइने भएकाले हातले तयार गरेका कपडाको माग घट्दै गएको छ । युवापुस्ताले सीप नसिक्नु र तयारी कपडाको व्यापार ग्रामीण क्षेत्रसम्म बढ्दै जानुले राडीपाखी र बख्खु बस्तारै लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ ।

हिमाली क्षेत्रमा पाइने भेडाको रौँबाट ऊन तयार पारेर राडीपाखी र बख्खु बुन्ने गरिन्छ । एउटा राडी बुन्नका लागि कम्तीमा पनि दश दिन लाग्ने स्थानीयवासी रामबहादुर रावतले बताए  । समय पनि बढी लाग्ने र बिक्री गर्दा त्यति फाइदा नहुने भएकाले अहिले राडीपाखी र बख्खु बुन्ने काम घट्दै गएको जान थालेको उनले बताए । अहिले त्यस्ता सामग्री आफन्तलाई कोशेलीका रूपमा पठाउनका लागि मात्र बुन्ने गरिएको उनको भनाइ छ ।

पहिले धेरै बिक्री हुन्थ्यो, आजभोलि बजारमा मागसमेत घटेकाले बिक्री हुन छाडेको छ उनले भने । बजारमा एउटा राडी रु चारदेखि छ हजार सम्ममा बिक्री हुने गरेको छ ।

समय खर्चिएर भेडाको ऊन काटेर धागो बनाई राडीपाखी र बख्खु बुन्नुभन्दा बजारबाट कपडा किन्न सजिलो भएकाले घरमै गर्न सकिने यो पेशा बिस्तारै लोप हुँदै गएको स्थानीयवासीहरुको भनाइ छ ।

पुरानो पुस्ताले गाउँमै बुनिएको कपडा प्रयोग गर्दै आए पनि नयाँ पुस्ताले प्रयोगमा रुचि नदेखाएको जाजरकोट उद्योग वणिज्य संघका अध्यक्ष कर्णबहादुर खत्रीको भनाइ छ ।