अभिनेत्री श्रीदेवीको निधन, भारतको कलाकारिता क्षेत्र स्तब्ध

मुम्बई, फागुन १३ । एजेन्सी ः भारतीय चलचित्र क्षेत्र बलिउडकी एकजना चर्चित अभिनेत्री श्रीदेवीको गएराति दुःखद निधन भएको छ । श्रीदेवी संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति उनलाई हृदयाघात भएको परिवारिक स्रोतले बताएको छ । उनको निधनको खबरले भारतीय सिने जगतका साथै उनलाई मनपराउने सर्वसाधारण सबै नागरिक स्तब्ध भएका छन् ।

उनको जन्म सन् १९६३ को अगष्ट १३ मा भारतको तमिलनाडुमा भएको थियो । चार वर्षको उमेरदेखि कलाकारिता क्षेत्रमा प्रवेश गरेकी श्रीदेवी ५४ वर्षकी थिइन । चर्चित अभिनेत्री श्रीदेवी बालकलाकारको रूपमा चार वर्षको उमेरदेखि नै एक तमिल चलचित्रबाट कला जगतमा प्रवेश गरेएकी थिइन् । मिस्टर इण्डिया, चाँदनी, मावली, तोफा, चालबाज, लमहे, खुदा गवाह, जुदाईजस्ता निकै चर्चित तथा व्यावसायिकरुपमा सफल चलचित्रमा उनले अभिनय गरेकी छिन् । उनका यी चर्चितसहित डेढ सयभन्दा बढी चलचित्र रहेका छन् ।

श्रीदेवीले सन् १९७९ मा मुख्य नायिकाकै रुपमा बलिउड चलचित्र ‘सोलहवा साल’ बाट अभिनय शुरू गरेकी हुन् । उनले सन् १९९७ मा जुदाई नामक चलचित्रमा अभिनय गरेपछि केहीवर्ष चलचित्रमा देखा नपरेपछि उनी किन सो क्षेत्रमा नआएको भन्ने बारेमा निकै ठूलो चर्चा चलेको थियो ।

यसैबीच उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले लोकप्रिय कलाकार श्रीदेवीको निधनबाट भारतलाई बलिउड क्षेत्रमा ठूलो क्षति भएको बताएका छन् । प्रधानमन्त्री मोदीले आइतबार बिहान ट्वीटगर्दै श्रीदेवीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

त्यसैगरी बलिउडकी अर्की चर्चित अभिनेत्री प्रियंका चोपडाले पनि ट्वीटगर्दै आफूसँग श्रीदेवीप्रति श्रद्धाञ्जलि अर्पणगर्न कुनै शब्द नै नभएको भन्दै आफूलाई ठूलो शोक परेको बताएकी छिन् । उनले श्रीदेवीको निधनले भारतीय चलचित्र क्षेत्रलाई निकै ठूलो र अपुरणीय क्षति पुगेको बताएकी छिन् । भारतीय चलचित्र क्षेत्रका अर्का एकजना चर्चित नायक अक्षयकुमारले पनि उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

साथै यस निधनप्रति भारतका चलचित्रकर्मी र शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन् । भारतीय कलाकारिता क्षेत्रका हजारौँ व्यक्तिले श्रीदेवीको निधनले बलिउड क्षेत्र नै शोकमा डुबेको र देशलाई ठूलो क्षति पुगेको अभिव्यक्ति दिइरहेका छन् । त्यसैगरी भारतका दशौँ लाख नागरिकले सामाजिक सञ्जालहरुमा उनीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पणगर्दै श्रीदेवीको निधनले विश्वमा नै चर्चित भारतको बलिउड क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् ।