‘पार्टी एकतामा कुनै धोका नहुने’

काठमाडौँ, फागुन २१ । नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा कुनै धोका नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

सोमबार झापा आन्दोलनका पाँच शहीदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा नेकपा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजना गरिएको स्मृति सभा कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र मुलुकको समृद्धिका लागि क्रियाशील रहेकाले पार्टी एकतालाई सावधानीपूर्वक अघि बढाउन दृढ संकल्पित रहेको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले शहीदको योगदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेकाले उहाँहरुको आकांक्षा अनुसार मुलुकको सामाजिक न्याय र समानता तर्फको यात्रालाई सरकारले लोकतान्त्रिक विधि अनुसार पूरा गर्ने प्रतिबद्धता जनाए ।

तत्कालीन पञ्चायत सरकारले २०२९ फागुन २१ गते झापा आन्दोलनका नेताहरु रामनाथ ढकाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सिमानामा पर्ने सुखानी जंगलमा लगी हत्या गरेको थियो ।

सो स्मृति सभामा एमालेका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, झापा आन्दोलनका नेता राधाकृष्ण मैनाली, शहीद परिवारका सदस्यलगायतको उपस्थिति रहेको थियोे ।