‘महिला र पुरुषबीच समानता नभएसम्म विकास असम्भव’

काठमाडौँ, फागुन २३ । महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास हुन नसक्ने काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बताएकी छिन् ।

बुधबार राष्ट्रिय महिला आयोगको १६ औंँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल संघीयतामा गइसकेको पनि महिलाको आन्दोलन समाप्त भइनसकेको उल्लेख गरिन् । आयोगका पूर्वअध्यक्ष नैनकला थापाले महिलामाथिको विभेद अन्त्य गर्नका लागि सबै महिला एकजुट हुनुपर्नेमा जोड दिइन् ।

आयोगका पूर्व सदस्य लिली थापाले आयोगले गाउँ नगर पुगेर महिलाको पीडा न्यूनीकरणका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताइन् । आयोगका पूर्वसचिव शरदराज विष्टले महिलाको सामाजिक रुपान्तरणका लागि कानूनी व्यवस्थामा सुधार हुनुपर्ने उल्लेख गरे ।

कार्यपत्र प्रस्तोता गीता पाठक र सुशीला श्रेष्ठले सामाजिक परिवर्तन नभएसम्म सर्वसाधारण जनता तथा विशेष गरी शोषित अवस्थामा रहेका महिलाले परिवर्तनको अनुभूति गर्न नसक्ने बताइन् ।

आयोगले महिलाको अधिकारको रक्षाका लागि काम गर्दै आएको आयोगका सचिव तुल्सीराम सेढाईंले बताए ।