काठमाडौँ, फागुन २३ । सीपमूलक र व्यवसायिक शिक्षाको प्रवद्र्धन गर्ने हेतुले शैक्षिक प्रदर्शन भएको छ ।
एपेक्स लाइफ स्कुलले बुधबार चाबहिल, सरस्वतीनगरमा आयोजना गरेको एकदिने शैक्षिक प्रदर्शनीको नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले उद्घाटन गर्दै दक्ष विद्यार्थी उत्पादनका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए ।
शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले परीक्षामा मात्र सफल बनाउनुभन्दा असल विद्यार्थी निर्माणमा लाग्नुपर्नेमा जोड दिए । विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपानेले विसं २०४० मा स्थापित विद्यालयले सैद्धान्तिकका साथै व्यावहारिक शिक्षा प्रदान गर्नका लागि विभिन्न समयमा यस्ता प्रदर्शनी गर्दै आइरहेको जानकारी गराए ।
प्रदर्शनीमा विद्यार्थीले बनाएका विज्ञान, प्रविधि र सामाजिक क्षेत्रका वस्तु राखिएका छन् । विद्यालयले पूर्वीय दर्शनलाई विशेष जोड दिई विभिन्न पाठपूजा गराउँदै आएको छ ।
विद्यालयमा काठमाडौँका बालाजु, रविभवन, कपन, बूढानीलकण्ठ र थापाथलीका साथै भक्तपुरका ठिमी, बालकोटलगायतका ३५० विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयका लेखाप्रमुख विन्दु अधिकारीको भनाइ छ ।