विदेशबाट आयात हुने तरकारीमा प्रयोग गरिने विषादीयुक्त खाद्य पदार्थमा रोक

काठमाडौँ, फागुन २५ । विदेशबाट आयात हुने तरकारीमा प्रयोग हुने विषादीयुक्त खाद्य पदार्थमा रोक लगाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पश्चात सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी, फलफूल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल थालिएको छ । प्रधानमन्त्री ओलीको निर्देशनपश्चात मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा यही फागुन ११ मा बसेको सम्बन्धित मन्त्रालयका सचिवको बैठकले तय गरेको नियन्त्रणका उपाय बारेको छ बुँदे निर्देशन कार्यान्वयन गर्न मातहतका निकायमा पत्राचार गरिएको छ ।

नेपाल सरकारले एक महिनाभित्र हरेक प्रदेशमा प्रविधियुक्त नाका तोक्न पनि निर्देशन दिएको छ । तरकारी र खाद्य पदार्थमा विषादीको प्रयोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको सन्दर्भमा पूर्व सचेतनाका लागि सरकारले यस्तो खालको नयाँ पहल शुरु गरेको हो । नयाँ निर्णयको कार्यान्वयन गर्न भन्सार नाकामा सशस्त्र प्रहरी बलले चेकजाँचलाई कडाइका साथ अघि बढाउनेछ ।

यसैगरी कृषि मन्त्रालयले तीन महिनाभित्र नेपालमा उत्पादन र आयात हुने तरकारी र फलफूलमा ‘म्याम्सिमम रेसिडियल लिमिट’ (एमआरएल) तोकी लागू गर्ने, मानव, पशुपक्षी र वनस्पति स्वास्थ्यमा विषादिबाट पर्नसक्ने नकारात्मक असर कम गर्ने हेतुले कृषि विकास र पशुपक्षी विकास मन्त्रालयले तरकारी, फलफूल, बिउबिजन र पशुपक्षी आयात गर्न पाउने हरेक प्रदेशमा प्रविधियुक्त नाका तोक्न निर्देशनमा उल्लेख छ ।

तरकारी र खाद्य पदार्थको गुणस्तर मापन प्रणालीमा सुधार गर्ने पनि निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिपत्रमा बताइएको छ । हाल विदेशबाट आयात तथा प्रयोग हुने तरकारी र खाद्य पदार्थमा के कति विषादीको प्रयोग भइरहेको छ भन्नेबारेमा यकिन विवरण भने आएको छैन ।

नेपालमा तरकारी र खाद्य पदार्थको आयात बढी मात्रामा छिमेकी मुलुक भारतबाट हुने गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा स्थानीय विकास, कृषि, गृह, वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । कार्यान्वयनकै लागि आपूर्ति मन्त्रालयको यही फागुन १५ को अनुरोध अनुसार स्थानीय विकास मन्त्रालयले यही फागुन २२ मा सबै स्थानीय तह (जिसस, महानगर, उपमहानगर र गाउँपालिका) लाई पत्राचार गरी मुख्यसचिवसहितको बैठकले गरेको निर्णयबारे जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन अनुसार आफूहरुले नियन्त्रणका उपायका लागि आवश्यक तयारी गरेकोे कृषि मन्त्रालयका प्रवक्ता डा योगेन्द्रकुमार कार्कीले बताए । उनले त्यसबारेमा थप काम अघि बढाउन मन्त्रालयको योजना महाशाखाले आउदो आइतबार सम्बन्ध निकायका पदाधिकारीको बैठक तय गरेको जानकारी गराएका छन् ।

उक्त निर्णय कार्यान्वयको प्रगतिबारे हरेक महिना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पूर्वाधार विकास हेर्ने सचिवको अध्यक्षतामा समीक्षा बैठक आयोजना हुनेछ ।