काठमाडौँ, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपति पदका लागि भएको निर्वाचनको मतदान आज बिहानबाट शुरु भएको छ । पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गरेका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र राखिएको छ । मतदानका लागि बिहान ९ बजेदेखि नै मतदाता मतदान केन्द्रमा प्रवेश गरेका छन् ।
अपराह्न ३ः०० बजेसम्मका लागि मतदान समयावधि तोकिएको छ । राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा उत्रिएका छन् । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।
निर्वाचन व्यवस्थित गर्न सुरक्षा व्यवस्थालाई चुस्त बनाउनका साथै प्रत्येक केन्द्रमा महिला र पुरुषका लागि बेग्लाबेग्लै लामको व्यवस्था छ । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० जना मतदाता रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी गराएका छन् ।
आयोगले मतदातालाई आफू सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रमध्ये कुनै एउटा कागज बोकेर मतदानका लागि उपस्थित हुन अनुरोध गरेको छ ।