झापा, फागुन २९ । बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्याको विरोध गर्दै आज त्यहाँका व्यवसायीले बिर्तामोड बजार बन्द गरेका छन् ।
यही फागुन २० गतेदेखि सम्पर्क विहीन भएका मुखियाको शव सोमबार इलामको रोङ गाउँपालिका–३ स्थित कोल्बुङमा फेला परेको थियो ।
हात पछाडि बाँधेर बोरामा हालेर फ्याँकिएको अवस्थामा मुखियाको शव भेटिएको सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजु धमलाले बताएका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा सुनचाँदी व्यवसायीसहित तीन जनालाई पक्राउ गरेको छ ।
घटनाको अनुसन्धान पूरा भएपछि पक्राउ परेकाको नाम सार्वजनिक गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडले बताएको छ ।
0
Shares