४८ ग्यास उद्योग गुणस्तर चिह्न नलिई सञ्चालन

काठमाडौँ, फागुन ३० । नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले गुणस्तर चिह्न नलिई उद्योग संचालन गरेका छन् ।

यी उद्योगहरुले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन् । सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न अनुरोध गरेको भए पनि उक्त कम्पनीले अटेर गरेर उद्योग संचालन गर्दै आएका हुन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न नलिएका ग्यास उद्योगमाथि कारबाही चलाएपछि दुई महिनाभित्र लिने भनेपनि अहिलेसम्म लिएका छैनन् । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिने संख्यामा बढेको बताएका छन् ।

कारबाही अभियान सञ्चालन गरेपछि तीन ग्यास उद्योगले प्रमाणपत्र चिह्न लिएका छन्, २० वटा कम्पनी लिने चरणमा छन् उनले भने । सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको उनले बताएका छन् ।

नेपालमा रहेका ५५ ग्यास उद्योगमध्ये हालसम्म मनोज ग्यास उद्योग, वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग, धादिङ, साइबाबा ग्यास उद्योग, धादिङ, नेपाल ग्यास उद्योग, बालाजु, जानकी ग्यास उद्योग, नवलपरासी, मेट्रो ग्यास उद्योग, धादिङ र एनएल ग्यास उद्योग, वीरगञ्जले नेपाल गुणस्तर चिह्न लिएका छन् ।

गुणस्तर प्रमाणपत्र नलिई सञ्चालन गरेको व्यापक जनगुनासो आउन थालेपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो ।

ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची–२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ ।