आर्थिक विपन्न युवालाई सीपमूलक तालीम दिइने

काठमाडौं, चैत ४ । आर्थिक विपन्न युवालाई स्वरोजगार गराउने उद्देश्यले सरकारले १६ हजारलाई सीपमूलक तालीम प्रदान गर्ने भएको छ ।

गरिबी, सुविधाविहीन, अति सीमान्तकृत तथा सीमान्तकृत जनजाति दलित र अपांगता भएकालाई पहिलो चरणमा उपत्यकाका चार हजार र उपत्यका बाहिरका १२ हजार युवालाई सीपमूलक तालीम प्रदान गर्न थालिएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)का परियोजना प्रमुख टेकनारायण पाण्डेले बताए । उपत्यका बाहिरका ४६ वटा जिल्लाका युवालाई भने तालीम दिन थालिसकेको छ । उनीहरुलाई छोटो अवधिको तालीम दिई रोजगारीमा लाग्न र स्वरोजगार बनाउनका लागि तालीम दिन थालिएको उनले बताए ।

उक्त तालीम प्रवेशिका अनुत्तीण गरेका १६ देखि ४० वर्ष उमेर समूहलाई दिन लागिएको हो । युवालाई विल्डिङ इलेक्ट्रिसियन, इण्डिष्ट्रियल इलेक्ट्रिसियन, मोटरसाइकल सर्भिस, मेकानिकल, जुनियर कम्प्युुटर हार्डवेर टेक्निसियन, मोबाइल मर्मत, भारतीय कुक, ब्यूटिसियन जस्ता तालीम प्रदान गरिने छ । इभेन्ट परियोजना प्रमुख पाण्डेले तालीम दिन युवाको छनोट सकेर सोमबार काठमाडौं, ललितपुर र भक्तपुरका चार हजारलाई भौचर वितरण गर्न थालिएको बताए । भौचर लिइसकेपछि छनोटमा परेकाले तालीम प्रदायक संस्थाकहाँ गएर तालीम लिनसक्ने छन् ।

तीन महिने उक्त तालीम उपत्यका बाहिर भने थालिसकेको परियोजना प्रमुख पाण्डेले बताए । तालीम लिइसकेपछि ती युवाले लिएको तालीमको सीप परीक्षण केन्द्रबाट सीप परीक्षण गर्ने परियोजना उपनिर्देशक दिनेश खनालले बताएका छन् ।

‘तालीम दिइसकेपछि उक्त संस्थाले नै तालीम लिएका युवालाई रोजगारी दिनेछन् उनले भने । इभेन्टले विश्व बंैकसँगको सहकार्यमा पाँच वर्षभित्र मुलुकका एक लाख १५ हजार युवालाई तालीम दिनेछ ।

सन् २०११ बाट इभेन्टले बेरोजगार युवालाई रोजगार बनाउनका लागि छोटा अवधिका तालीम सञ्चालन गदै आएको छ । इभेन्टले अहिलेसम्म ८७ हजार पाँच सय युवालाई छोटा सीपमूलक तालीम दिइसकेको छ ।