चितवन, चैत ५ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जंगल सफारीका लागि विश्व प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको भ्रमणपछि बाघ हेर्न अर्काेपटक आउने बताएका छन् ।
नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवा कसराको डुमरिया फाँट हुँदै पदमपुर, जर्नेली पोष्ट, विक्रम बाबा दर्शन, घडियाल प्रजनन केन्द्र अवलोकन गर्दै फर्किएका थिए ।
निकुञ्ज घुमाउनसँगै रहेका मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासु ढुंगानाले भ्रमणका क्रममा सातवटा गैँडा, मयुर, गोही, चराचुरुङ्गी देखेपछि उनले अहिले बाघ देखिएन अर्काेपटक आउने बताएका हुन् । पूर्व प्रधानमन्त्री देउवा गैँडा देखेपछि निकै उत्साहित हुँदै बाघ हेर्न फेरि आउने बताउनुभयो ढुंगानाले भने ।
वन र वन्यजन्तु संरक्षणमा निकै चासो राख्ने देउवाले निकुञ्ज संरक्षणमा ध्यान दिन सँगै रहेका संरक्षणकर्मीलाई अनुरोध पनि गरेका थिए ।
देउवासँगै सांसदहरु, काँग्रेस नेता, निकुञ्ज अधिकारी र मध्यवर्तीका पदाधिकारीहरु जंगल सफारीमा रहेका थिए ।