अशोक स्तम्भको संरक्षण

कपिलवस्तु, चैत १२ । महत्वपूर्ण पर्यटकीयस्थलमा पर्ने बुद्धको जन्मस्थलमा रहेको अशोक स्तम्भको तीन दशकपछि संरक्षण गरिएको छ ।

सदरमुकाम तौलिहवादेखि सात किमी उत्तरमा पर्ने निग्लिहवामा रहेको उक्त स्तम्भ दुई टुक्रामा विभाजित भई भुइँमा लडेको थियो । लामो समयपश्चात त्यसलाई एक वर्ष लगाएर लुम्बिनी विकास कोषले करिब रु ३० लाख लगानीमा सुन्दर आकर्षक र परम्परागत शैलीमा छाना (सेड) निर्माण गरी संरक्षण गरेको हो ।

तौलिहवा–जितपुर खण्डमा पर्ने अशोक स्तम्भलाई संरक्षण गरेर रङ लगाएपछि आकर्षित बनेको छ । त्यसको संरक्षण गर्न कोषले तीन सुरक्षाकर्मी पनि राखेको छ । उनीहरू दिनरात खटिरहन्छन् । निग्लिहवा कनकमुनि बुद्धको जन्म तथा नेटल टाउनका रूपमा इतिहासमा चर्चित छ ।

लुम्बिनी हुँदै आउने पर्यटक तिलौराकोट पछि यहाँको अवलोकन गर्ने गर्छन् ।