दुई कोरियाबीचको बैठकलाई अमेरिकाले सहजता गर्ने

वासिङ्टन, १६ चैत । उत्तर र दक्षिण कोरियाबीच हुन लागेको बैठकले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच हुने भनिएको वार्तालाई पनि सहजता प्रदान गर्ने अमेरिकाले बताएको छ । यस बैठकले अमेरिकासँगको वार्ताको मुख्य एजेण्डालाई नजिक बनाउने र यसबाट द्विपक्षीय वार्ता र आवश्यक एजेण्डागत छलफलमा पनि स्पष्टता आउने अमेरिकाले अनुमान गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हाइदर नरेटले यस विषयमा बिहीबार उक्त मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा जानकारी दिँदै भने दुई कोरियाबीचको आसन्न सम्मेलनका कारण अमेरिकासँगको आगामी बैठक पनि थप सहज हुनेछ । उत्तर र दक्षिण कोरियाली प्रमुखहरुले आगामी अप्रिल महिनामा भेटवार्ता गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले यस बैठकको कार्यक्रम सार्वजनिक गरेका हुन् ।

नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि वार्ता गर्ने भनिएको छ । यी दुई नेताबीच आगामी मे महिनामा शिखर बैठक हुने जानकारी गराइएको छ । सो बैठकअघि अमेरिकी विदेश मन्त्रालयको यो भनाई आएको हो ।

हामीले उत्तर कोरियासँग विश्वासका आधारमा वार्तागर्ने तयारी गरिरहेका छौँ र हाम्रो विश्वासअनुरुप उत्तर कोरियापनि आओस भन्ने हामी चाहन्छौँ प्रवक्ता हाइदरले भने । उनले यस वार्ताकै विषयमा उत्तर र दक्षिण कोरियासँग कैयौँ पटकसम्म फोनमा कुराकानी समेत भएको जानकारी सो अवसरमा गराएको प्राप्त समाचारमा जनाइएको छ ।

बुधबार मात्र पनि ह्वाइट हाउसका प्रवक्ताले कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका क्षेत्रमा पछिल्लो समयमा निकै राम्रो प्रगति हुदै गएको बताइएको थियो । सिन्ह्वा