काठमाडौं, असार १ । राष्ट्रिय जनता पार्टी र सरकार बिचको छलफल पश्चात निर्वाचन आयोगको असहमतिका बीच पनि सरकारले प्रदेश नम्बर २ को चुनाव तेस्रो चरणमा गराउने भएको टुङ्गो लगाएको छ । बाँकी तीन वटा प्रदेश १, ५ र ७ मा भने तोकिएकै मिति असार १४ गते नै चुनाव हुने पक्का भएको छ । राष्ट्रिय जनता पार्टीले चुनावको मिति सारेपनि चुनावमा आउने सुनिश्चित भने गरेको छैन ।
आज सिंहदरबारमा बसेको सत्तारुढ कांग्रेस, माओवादी र राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरुको बैठकमा प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति बैठक ठुङ्गीएको थियो । आयोगले चुुनाव सारे पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिएको थियो ।
राजपासँग वार्ता गर्नुअघि सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका थिए । आयोगको चेतावनीलाई अस्वीकार गर्दै कांग्रेस र माओवादीले राजपासँग चुनाव सार्ने सहमति गरेका छन् । अब मन्त्रिपरिषद् बैठक बसेर औपचारिक निर्णय गर्ने बताइएको छ । ‘प्रदेश नम्बर २ को चुनाव सारेर असोज २ गते चुनाव गर्ने सहमति भएको ने.का का एक नेताले जानकारी गराएका छन् ।
चुनाव सार्ने सहमति भएपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने प्रतिवद्धता भने जनाएको छैन । राजपाले स्पष्ट धारणा राख्न सकेन चुनावमा जाने या नजाने भन्ने बिषयमा स्पष्ट सँग कुरा खोल्न नचाहेको सत्तारुढ दलका एक नेताले बैठक पश्चात जानकारी गराए ।