क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने मेशिन जडान

तनहुँ, चैत १८ । क्षयरोगीको निःशुल्क स्वास्थ्य परीक्षण गर्न तनहुँ जिल्ला दमौली अस्पतालमा अत्याधुनिक उपकरण जडान गरिएको छ ।

उक्त उपकरण राष्ट्रिय क्षयरोग केन्द्र काठमाडौँबाट उपलब्ध भएपछि क्षयरोगीका बिरामीलाई राहत मिल्ने भएको छ । रु ४० लाखको लागतमा क्षयरोग परीक्षण गर्ने जिनेक्सपाट मेशिन जडान गरिएको अस्पतालले बताएको छ । सो उपकरणले क्षयरोगका अति सूक्ष्म जीवाणु पनि परीक्षण गर्न सकिने जिल्ला स्वास्थ्य प्रमुख डा पवनजंग रायमाझीले बताएका छन् ।

नेपाल सरकारबाट क्षयरोगको निःशुल्क उपचार गर्ने भनिए पनि दमौली अस्पातालमा परीक्षण गर्ने उपकरणको अभावमा बिरामीलाई पोखरा, चितवन, काठमाडौँ लगायतका प्रमुख शहरमा पुर्याउनुपर्ने बाध्यता रहेको थियो ।

उक्त मेशिनबाट परीक्षण गर्दा एउटा बिरामी बराबर रु एक हजार ७०० लाग्छ तर दमौली अस्पतालबाट यसको निःशुल्क रुपमा परीक्षण गर्ने व्यवस्था मिलाइएको डा रायमाझीले जानकारी गराएका छन् ।

क्षयरोगीको खकार परीक्षणमा सो उपकरणले ९९ प्रतिशत जीवाणु पत्ता लगाउँछ । क्षयरोगका बिरामीहरुले हप्ताको सात दिन यसको सेवा लिन सक्नेछन् ।

उक्त अस्पताललाई ३५ श्यया थप गरी ५० श्ययाको अस्पताल बनाउने तयारी भइरहेको सो अस्पतालका चिकित्सकहरुले जनाएका छन् ।