‘युवालाई विदेश पलायन हुनबाट रोकी मुलुकको समृद्धि र विकासमा लगाउने’

काठमाडौंँ, चैत १९ । मुलुकको विकास र समृद्धिमा युवालाई परिचालन गर्न सरकारले तयारी गरेको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बताएका छन् ।

राष्ट्रिय युवा परिषद्, नेपालद्वारा आयोजित ‘राष्ट्रिय युवा नीति, युथभिजन र युवा परिषद्का कार्यक्रमका बारेमा स्थानीय तहका पदाधिकारीसँगको’ अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रका लागि चाहिने युवा विदेश पलायन भइरहेकाले तिनलाई रोकी समृद्धि र विकासमा लगाउने बताएका छन् ।

देश अब विकास र समृद्धिको बाटोमा लागेको छ, दैनिक सयांै दक्ष युवा जनशक्ति विदेश पलायन भइरहेकाले तिनलाई रोकी राष्ट्रको हितमा लगाउनु पर्दछ उनले भने । उनले युवालाई स्थानीय तहमा नै स्वरोजगार बनाउने योजना बनाएको बताएका छन् ।

मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रको विकास लागि केन्द्रमा अत्याधुनिक रंगशाला, सातवटै प्रदेशमा रंगशाला बनाउन तयारी समेत गरेको जनाएका छन् । स्थानीय तहले पनि वडास्तरमा खेलमैदान बनाउनुपर्ने उनले अनुरोध गरे ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवालाई आत्मनिर्भर बनाउनका लागि परिषद्लाई स्थानीय तहसम्म विस्तार गरिने बताए । उनले सातवटै प्रदेशमा युवा सिर्जनशील केन्द्र स्थापना गरी युवामा भएको सीप र क्षमतालाई सदुपयोग गरिने बताएका छन् ।

युवालाई युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रेमप्रसाद दंगालले युवालाई स्वरोजगार बनाउका लागि प्रादेशिकस्तरमा कोषको संरचना बनाएर स्थानीय तहसम्म पुग्ने प्रयास भइरहेको उनको भनाइ छ ।

कार्यक्रममा अछामस्थित तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा, खोटाङस्थित खोटहाङ गाउँपालिकाका उपाध्यक्ष कविता राईले युवाको क्षमताका आधारमा योजना बनाई लागू गर्नुपर्ने बताए ।