अर्थ मन्त्रालयद्वारा तयार श्वेतपत्र अर्थतन्त्रको यथार्थ तस्वीर हो : अर्थमन्त्री

काठमाडौँ, चैत २० । अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्वीर रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर डा खतिवडाले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा गरेका लगानीले प्रतिफल दिन थालेको र स्थिरता हुँदै समृद्धिको यात्रा अगाडि बढेको पनि श्वेतपत्रमा उल्लेख भएकाले समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रबारे आफूले सदनलाई श्वेतपत्रमार्फत जानकारी गराएको बताए ।

उनले राज्यको सम्पत्ति कुनै व्यक्तिको हातमा नजाओस् भन्नेमा सरकार सचेत रहेको जनाउँदै यसको अर्थ निजीकरणलाई रोक्न वा बन्द अर्थतन्त्र ल्याउन खोजिएको भन्ने नबुझ्न अनुरोध गरे ।

निरपेक्ष उदारीकरणले हामीलाई सीमान्तकृतमा पनि पार्न सक्छ भन्ने विश्व अर्थतन्त्रले देखाइसकेको छ, हामी विश्वव्यापी खुला अर्थतन्त्रलाई राष्ट्रिय हितमा प्रयोग गरेर अघि बढ्ने सोचमा छौँ उनले भने ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायतका सांसदले मुलुकको अर्थतन्त्र रित्तो अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको टिप्पणी गरेका थिए ।