विद्यार्थीले गरे जनचेतनामूलक सरसफाइ

काठमाडौँ, चैत ३० । काठमाडौँ महानगरपालिका–३१ आलोकनगरमा विद्यार्थीहरुले टोल शहर सफाइका लागि जनचेतना जगाउने उद्देश्यले सफाइ गरेका छन् ।

आलोकनगरस्थित मातृशक्ति सरसफाइ अभियानले सान्त्वना कलेजका विद्यार्थी, नेपाल प्रहरी र अभियानकर्मीको सहयोगमा जनचेतनामूलक सफाइ गरेका हुन् ।

सफाइसँगै वडा नं ३१ मा रहेका खाली जग्गामा उम्रिएको गाँजाको बिरुवा पनि उखेलिएको सफाइ संयोजक प्रमिला पौडेलले बताएकी छिन् । खाली ठाउँमा युवायुवती जम्मा भएर गाँजा माडेर खाँदा उम्रिएका बिरुवा उखेलिएको उनले बताइन् ।

सफाइबाट दुई ट्र्याक्टर फोहरसमेत व्यवस्थापन भएको छ । सफाइमा कलेजका ४० जना छात्रछात्राको सक्रियता रहेको थियो । प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने गरिएकामा विद्यार्थी नआउने भएकाले शुक्रबार नै सफाइ गरिएको हो ।

मातृशक्ति सफाइ अभियानले ५३ हप्ता पार गरेको छ । सफाइ अभियानले टोल सरसफाइमा जागरण ल्याएको बताइएको छ ।