दुई बर्षदेखि लोपोन्मुख गिद्ध फेला

३ असार । असार ३ । दुई वर्षदेखि नदेखिएको विश्वमै लोपोन्मुख सेतो गिद्ध जाजरकोटमा फेला परेको छ । पक्षी संरक्षण संघ नेपालका आजीवन सदस्य तथा जिल्ला पशुसेवा कार्यालयका पशु प्राविधिक गोविन्द सिंहले बारेकोट गाउँपालिका–१ सक्लामा फेला परेको जानकारी गराएका छन् ।

भेरी नगरपालिका–११ मटेलामा सेतो गिद्धको केही समयअघि गुँड फेला परे पनि अनुकूल वातावरण नपाएपछि गिद्धले गुँड छाडेर गएको सिंहले बताए । सक्लामा हालै फेला परेको एक जोडी सेतो गिद्धको गुँड भने पत्ता लगाउन नसकेको उनले बताए । ‘प्रकृतिको कुचीकार’को रुपमा चिनिने गिद्धका विभिन्न प्रजातिहरुमध्ये सेतो प्रजातिको गिद्ध विश्वमै लोपोन्मुख अवस्थामा पुगेको छ ।

विश्वमै लोप हुने अवस्थामा पुगेको सुन गिद्धको एक जोडी जाजरकोटमा दुई वर्षअघि फेला परेको थियो । त्रिवेणी नलगाड नगरपालिका–५ लहँको महादेव स्थान जङ्गलमा सुन गिद्धको गुँड फेला परेको थियो । गुँडमा अण्डा पारे पनि कोरल्न नसकेको पक्षी संरक्षणकर्मी सिंहले बताए । उनले केटाकेटीले गुँडमा ढुङ्गा हान्ने, आगलागी गर्ने आदि कारणले गर्दा चल्ला कोरल्न नसके पनि एक जोडी सुन गिद्ध जाजरकोटमा भएको बताए ।सेतो गिद्ध, सुन गिद्ध, हाडफोर गिद्ध र हिमाली गिद्ध जाजरकोटमा पाइने एक अध्ययनले देखाएको छ ।

पाल्पामा पहिलो पटक देखिएको सुन गिद्ध जाजरकोटमा समेत देखिएको हो । चरा संरक्षण संघका अनुसार विश्वमा १३ प्रकारका गिद्ध पाइन्छन् । एसियामा नौ प्रकारका पाइनेमा ती सबै नेपालमा पाइन्छन् । त्यसमध्ये चार प्रजातिका गिद्ध जाजरकोटमा पाइने गरेका छन् । पक्षी संरक्षण संघले गरेको अध्ययनबाट जिल्लामा ७५ हिमाली गिद्ध, तीन जोडी हाडफोर गिद्ध तथा एक एक जोडी सुन गिद्ध र सेतो गिद्ध रहेका छन् ।