काठमाण्डौ, बैशाख १४ । चलचित्र ‘ह्याप्पी डेज’ बैशाख १४ गते प्रदर्शन लागि तय गरिएको थियो । यस चलचित्रले यतिबेला आफ्नो प्रचार प्रसारलाई तिव्रता दिदै अगाडी बढिरहेको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा यसको निर्माण टिमले उपत्यकामा रथ यात्रा गर्ने निर्णय गरेको छ ।
चलचित्र ‘ह्याप्पी डेज’ को गीतसंगीत तथा ट्रेलरले खुबै दर्शकको मन जितेको छ । यस चलचित्रको चर्चा इन्टरनेटमा मात्र नभएर हरेक नेपालीको मन मष्तिष्कमा समेत रहेको र हरेक दर्शक यस चलचित्रको रिलिज मिति पर्खिरहेका छन् । यो चलचित्रको थप हाइप सृजना गर्न कलाकारसहितको टोलीलाई ललितपुर र काठमाडौँको विभिन्न स्थानमा रथ चढाएर घुमाइने निर्देशक मिलन चाम्सले बताएका छन् ।
आज लगनखेलबाट सुरु हुने रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत हुनेछ । यसपछि पुनः रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिने बताइएको ।
नेपाली सिनेमा प्रति दर्शकमा कौतुहलता सृजना गर्न पछिल्लो समय नयाँ तरिकाको प्रचार शैली अपनाइदै गर्दा ‘ह्याप्पी डेज’ को रथ यात्राले दर्शकमा सकारात्मक सन्देश प्रवाह गर्ने निर्देशक चाम्सको विश्वास रहेको छ ।
चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकलको अभिनय रहको छ । निर्माण भएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रुपमा रहेका छन् भने यो चलचित्रको बजेट भने साढे २ करोडको हाराहारीमा रहेको निर्माण टिमले जानकारी गराएको छ ।