६० वटा मुद्दाको फैसला भइसक्यो : हरिप्रभा खड्गी

काठमाडौँ, वैशाख ११ । काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म आएका सबै मुद्दा फैसला भइसकेको जानकारी गराइएको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गत असारमा गठन भएको कामपाको न्यायिक समितिमा हालसम्म ६० वटा मुद्दा आएको खड्गीले बताइन् ।

आएका सबै मुद्दा फैसला भइसकेको कामपाका उपप्रमुख खड्गीले जानकारी गराएकी हुन् । दैनिक सरदर पाँचदेखि सातवटासम्म मुद्दा आउने गरेको बताउँदै ती सबै तत्काल फैसला हुने गरेको उनले सुनाइन् । श्रीमान् श्रीमतीबीचको सम्बन्धबिच्छेद, लामो समय भाडामा बस्ने र भाडा नदिई कोठा छोड्ने, छिमेकीले बाटो मिचेको जस्ता मुद्दा आउने गरेको खड्गीले जानकारी गराइन् ।

संयोजकमा उपप्रमुख खड्गी, सदस्यमा वडा नम्बर ३१ का सदस्य सरोज ढकाल, वडा नम्बर १६ का दलित महिला सदस्य बबि परियार रहेका छन् । गतबर्ष वैशाखमा स्थानीय तहको निर्वाचनपछि मात्र कामपाको न्यायिक समिति गठन भएको कामपाले जानकारी गराएको छ ।