मुलुकलाई समृद्ध बनाउन प्रधानमन्त्रीले ल्याए नयाँ योजना

काठमाडौं, बैशाख ११ । सडकमा हुने विभिन्न खालका बेथितीहरुको अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकलाई सुन्दर, सफा र समृद्ध बनाउन एकपछि अर्को अभियान संचालन गर्दै अगाडि बढ्ने योजना ल्याएका छन् । काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान नजिक निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको मंगलबार उद्घाटन गर्दैै उनले मुलुकलाई पार्कजस्तै सुन्दर बनाउने प्रतिवद्धता जनाएका छन् ।

उनले देश बनाउन सरकार प्रतिवद्ध रहेको जनाएका छन् । मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने प्रधानमन्त्री ओलीले भनाइ थियो । उनले सरकारले केही गर्दैन भन्ने भ्रम छर्न खोजिएको भन्दै त्यसमा सचेत रहन अनुरोध गरे । प्रधानमन्त्री ओलीले सरकारको देशको हित भन्दा बाहेक अन्य कुनै उद्देश्य नरहेको भन्दै सडकमा हुने सबै खालका बेथिती अन्त्य गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले मुलुक मदन भण्डारीले देखाएको बाटोबाट अघि बढेको बताए । उनले मदन भण्डारीको विचार सबैको साझा विचार भएको भन्दै सोही विचार अनुसार नै अघि बढने प्रतिवद्धता जनाएका छन् । उनले मदन भण्डारीले देखाएको बाटोबाटै मुलुकमा साम्यवाद आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

उनले मुलुकको आर्थिक विकास गर्ने सरकारको संकल्प प्रशंनीय भएपनि काठमाडौंको सडक निर्माणमा भइरहेको ढिलाई सबैको टाउको दुखाईको विषय बनेको उल्लेख गरे ।

कडा निगरानीका साथ सडक निर्माणको काममा तीव्रता दिन सरकारलाई नेता नेपालले सुझाव दिएका छन् । वर्तमान सरकारले मुलुकमा भ्रष्टाचार हुन नदिने वरिष्ठ नेता नेपालको विश्वास छ ।