न्यूराेडमा स्मार्ट पार्किङ बन्ने

काठमाडौँ, वैशाख १२ । पार्किङलाई व्यवस्थित बनाउनका लागि काठमाडौँ महानगरपालिकाले स्मार्ट पार्किङ बनाउने भएको छ ।

सो पार्किङ पहिलो चरणमा निरीक्षणका रुपमा न्यूरोडमा निर्माण गरिने भएको हो । उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जनाएका छन् ।

यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ, कोही व्यक्ति न्यूरोड जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिलेनै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ उनले भने । कुनै कारणवस अन्य व्यक्तिले पहिले नै बुक गरिसकेको भए उक्त स्थानमा सवारीसाधन पार्किङ गर्न लगेमा सवारीसाधन त्यस स्थानमा राख्न सकिने छैन ।

दर्ता गरेको सवारीको नम्बर सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारीसाधन मात्र पार्क सर्न सकिन्छ । जुन सवारीसाधनको नम्बर दर्ता भएको छ त्यही सवारीसाधनले मात्र उक्त स्थानमा पार्किङको सुविधा पाउने काफ्लेले बताए ।

यस पार्किङ निर्माणबाट सहज रुपमा सवारीसाधनको व्यवस्थापन गर्न सकिने कामपाले विश्वास लिएको छ । कामपाले न्यूरोडमा विशालबजार अगाडि रहेको खाली स्थानमा पार्किङ निर्माण गर्ने तयारी गरेको छ ।