ललितपुर, जेठ ७ । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा रहेको एम्बुलेन्स अर्थ अभावका कारण थन्किएर बसेको छ ।
एम्बुलेन्सबाट उठेको रकमले त्यसलाई सञ्चालन गर्न नसकिएको अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताए । पहिले गैरसरकारी संस्थाले अस्पताल सञ्चालनमा सहयोग गर्दै आएको थियो ।
जिल्ला अस्पताल सार्ने सरकारको निर्णयपछि अरु निकायको सहयोग बन्द भएको छ । एम्बुलेन्सबाट नै उठेको पैसाले पनि नपुग्ने र अरु स्रोत नहुँदा एम्बुलेन्स चल्न छाडेको उनले बताएका छन् ।
एम्बुलेन्स सञ्चालन बापत उठेको रकमले गाडी सञ्चालन खर्च र चालकलाई दिने तलब हुँदै आएको थियो । झण्डै सात वर्ष पहिलेदेखि एम्बुलेन्स थन्किएर चल्न छाडेको अस्पतालले बताएको छ ।
एम्बलेन्स नचल्नाले पनि यहाँ आउने बिरामीको संख्या कम भएको छ । पहिले दक्षिण ललितपुरबाट धेरै बिरामी एम्बुलेन्सबाट यहाँ उपचारका लागि आउने गरेका थिए ।
अन्य निजी अस्पतालको भन्दा यहीको एम्बुलेन्स ग्रामीण क्षेत्रसम्म जाने गरेको थियो निर्देशक श्रेष्ठले भने । एम्बुलेन्स नचल्दा अन्य रोगका बिरामीसँगै प्रसूति सेवा लिने बिरामीको चाप घटेको छ ।
चापागाउँमा नै रहेको अर्काे एम्बुलेन्स झण्डै नौ महिना पहिलेदेखि बन्द भएपछि यहाँ एउटा पनि एम्बुलेन्स छैन ।