काठमाडौँ, जेठ १३ । निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक भएर अगाडि बढ्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
नेपाल प्रेस युनियनको २७ औंँ वार्षिक उत्सव समारोहमा बोल्दै सभापति देउवाले आज लोकतन्त्रको अर्काे पर्याय प्रेस भएको भन्दै प्रेसलाई धम्काउने, थर्काउने र अधिनायकवादका पक्षमा प्रयोग गर्न जबर्जस्त गरे काँग्रेस त्यसका विरुद्ध सडकमा उत्रने चेतावनी दिएका छन् ।
उनले चुनावमा कसैको हार जित हुनु भनेको स्वाभाविक कुरा भएको उल्लेख गर्दै काँग्रेसले हारलाई रचनात्मक धक्काका रुपमा स्वीकार गर्दै पार्टीको सुदृढीकरण र नवनिर्माणका लागि अगाडि बढ्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका अर्का नेता रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रतामाथि कही कतैबाट अंकुश लगाउने कार्य देखिएमा सिंगो काँग्रेस सडकमा उत्रने बताएका छन् । उनले लोकतन्त्र, समावेशिता, संघीयता र नयाँ संविधान कार्यान्यनका पक्षमा काँग्रेस सदैव क्रियाशील हुने भन्दै ट्रेड युनियनलाई बचाउन युनियन सदैव क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे ।
२७ वर्ष पहिले १७ पत्रकार मिलेर गठन भएको युनियन प्रजातान्त्रिक पत्रकारको साझा संस्था भएको काँग्रेसका उपसभापति विमलेन्द्र निधिको भनाइ छ । उनले संघीयता, समावेशिता, संविधान कार्यान्यवनमा भन्दा पार्टीको कामलाई पहिलो प्राथमिकतामा राखी छिमेकीलाई खुशी राख्न सरकार लागिपरेको आरोप लगाउँदै सस्तो लोकप्रियता सरकारको पहिलो काम भएको जनाएका छन् ।
काँग्रेसका महामन्त्री डा शशांङ्क कोइरालाले आफ्नो चिन्ता पार्टी एकता मात्र भएको बताए । पार्टीभित्रको गुट उपगुट अन्त्य हुनुपर्ने महामन्त्री कोइरालाको भनाइ छ । उनले पार्टीभित्रको गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो नहुने भएकाले आफू सोही अभियानमा लागेको बताएका छन् ।
पार्टीको गुट उपगुट एउटा ठूलो रोग भएको भन्दै महामन्त्री कोइरालाले कसैलाई पनि गुट उपगुटमा नलाग्न अनुरोध गरेका छन् । उनले गुट उपगुटलाई भत्काएर एउटै बनाउन पनि आग्रहसमेत गरेका छन् ।
समारोहमा पूर्वसञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, नेपाल पत्रकार महासंघका उपसभापति विपुल पोखरेल, नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ पत्रकार हरिहर विरही, तारानाथ दाहाल, दीपक आचार्य, अजय शिवाकोटी, प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले शुभकामना मन्तव्य मन्तव्य व्यक्त गरेका थिए ।
युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो । वि.सं २०४८ जेठ १३ गते स्थापित सो संस्था प्रजातन्त्रवादी पत्रकारको साझा संस्था हो ।