ओखलढुंगामा टाटासुमो दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते

ओखलढुंगा, जेठ १३ । ओखलढुंगाको मोलुङ गाउँपालिका २ मा टाटासुमो दुर्घना भएको छ । उक्त दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर एक बालकसहित ८ जना घाइते भएका छन् । आईतबार अपरान्ह प्राप्चाबाट सदरमुकाम आउदै गरेको ना १ ज ५५६२ नम्बरको टाटा सुमो सडकबाट १ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परि घाईते भएकाहरुलाई उपचारका लागी सामुदायिक अस्पताल मिसनमा ल्याउने क्रममा एकजनाको मृत्यु भएको ओलखढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले जानकारी गराए । मृत्यु हुनेमा मोलुङ गाउँपालिका २ का १८ बर्षीया रविन बिक रहेको उनको भनाई छ ।

दुर्घटनामा परी घाइते हुनेहरुमा १५ महिनाको बच्चासहित मोलुङ २ की जमुना खत्री, बर्ष १६ का बिष्णु विक, १७ बर्षीय अशोक विक र सोही स्थानका सवारी चालक अमृत विक रहेका छन् ।

त्यस्तै सिद्धिचरण नगरपालिका ६ का १५ बर्षीय पासाङ् लक्की शेर्पा, मोलुङ ७ का ३१ बर्षीय पदम बिक र खिजिदेम्बा गाउँपालिकाका बर्ष २८ का साङ्गे शेर्पा रहेका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

उनीहरुको सामुदायिक अस्पताल मिसनमा उपचार भैरहेको छ । दुर्घटना गाडीको ब्रेक फेल भई भएको प्रहरीको अनुमान छ ।